प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा, गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

प्रदेश समाचार सम्झना श्रेष्ठ मङ्लबार मंसिर १२, २०८०

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रदेशहरूका आन्तरिक मामिला तथा  कानुन एवम् गृहमन्त्रीहरूले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रदेशका अन्तरिम मामिला मन्त्रीहरूले प्रहरी समायोजन छिटो टुंगो लगाउनुपर्ने माग गर्दै पत्र बुझाएका हुन् । प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुयभो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो महिनाभित्रमा प्रहरी समायोजनको काम हुने आश्वासन दिनुभएको छलफलमा सहभागी हुनुभएका लुम्विनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय बताउनुहुन्छ । उहाँले यो महिनाभित्रमा प्रहरी समायोजनको काम अघि नबढे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रदेशको एकल सूचीका अधिकार हस्तान्तरण गर्न मधेश प्रदेशले गएको कार्तिक २२ गते संघीय सरकारलाई एक महिनाको अल्टिमेटम नै दिएको थियो । त्यो अल्टिमेटम सकिन अव १० दिन बाँकी छ । गृहमन्त्री र प्रधानमन्त्री यस विषयमा गम्भिर रहेको मधेश प्रदेशका गृहमन्त्री मोहम्मद समिमको बुझाई छ ।

यसअघि गएको भदौ मसान्तभित्र प्रदेश प्रहरी समायोजनको काम सक्ने सरकारले जनाएको थियो । तर, सरकारले प्रहरी समायोजन लगाएतका प्रदेश सरकारका अधिकार नदिँदा प्रदेश सरकारहरु संघिय सरकारसँग असन्तुष्ट बन्दै आएका छन् ।

Leave a Comment