सामाजिक संजाल : साइबर अपराधको ग्राफ बढ्दो, सात वर्षमा दुई हजार बढी बालबालिका पिडित

फिचर सम्झना श्रेष्ठ आइतवार मंसिर २८, २०८२

आजभोलि मानिसहरू सामाजिक सञ्जालको जालमा फस्ने क्रममा छन् । यस्तो लाग्छ, अब मानिस सामाजिक सञ्जालबिना बाँच्नै सक्दैनन्। तर यसको परिणाम स्वरूप हाम्रो वास्तविक जीवन, घरपरिवार र नजिकका साथीभाइसँगको अन्तरक्रिया कम हुँदै गएको छ। अब शहरका व्यस्त सडक वा गाउँघरका चिया चौतारोहरू पनि पहिले जस्तो जीवित र चहलपहलपूर्ण छैनन्। मानिसहरू हातमा फोन समातेर, स्क्रिनतिर जामिएर बस्छन्, अनि सामूहिक खुशी वा दुःख बाँड्ने मौलिक सम्बन्ध हराउँदै गएको छ।

नेपालमा हाल करिब १ करोड ४३ लाखभन्दा बढी मानिस सामाजिक सञ्जालको पहुँचमा छन् । तर, त्यसमध्ये कति खाता आधिकारिक छन् र कति होइनन् भन्ने यकिन तथ्यांक हामीसँग छैन। उदाहरणका लागि, फेसबुकमा खाता खोल्न कम्तीमा १३ वर्ष पुगेको हुनु अनिवार्य छ। तर कानुनको यो नियमलाई चिर्दै, साना बालबालिकाको नाममा खाता खोल्ने प्रवृत्ति बढ्दो छ। बालबालिकाको नाममा खुलेका लाखौँ खाता अहिले संचालनमा छन्, र त्यसका प्रयोगकर्ताहरूमा सेलिब्रिटीदेखि लिएर साधारण नागरिकसम्म छन्।

साँच्चै भन्नुपर्दा, कतिपय व्यक्तिहरू आफ्ना साना नानी–बाबुहरूको नाममा खाता खोलेर त्यसलाई कमाइको साधन बनाइरहेका छन्। यो केवल प्रवृत्ति मात्र होइन, समाजका लागि चिन्ताजनक संकेत हो।

कतिपयले जानेर त कतिपयले चाँही नजानेर पनि सामाजिक संजालको दुरुपयोग भैरहेको छ । मानिसहरुको माझ निकै लोकप्रिय बनेको सामाजिक संजाल फेसबुकमा नक्कली खाता खोल्ने र त्यसबाट व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति समेत मौलाउँदै गएको छ । यसले साना बालबालिका विषेशगरि बालिकाहरु यौन दुव्र्यवहार तथा यौन हिंसामा पर्ने गरेका डरलाग्दो अवस्था छ ।

बालबालिकामाथि यौन हिंसाको जोखिम
काभ्रेकी १८ वर्षिय किशोरी, साथमा १९ महिनाकी छोरी । आज भन्दा करिव दुई वर्ष अगाडी एक युवकसँग फेसबुक मार्फत् भेट हुन्छ । एउटै पालिका भएपनि भौगोलिक हिसावले अलिक टाढाको बसाई । फेसबुकमा भेटेपछि संवाद बाक्लिँदै जान्छ र दुई बिच प्रेम स्थापित हुन्छ । यसै क्रममा स्थानिय महोत्सवमा दुवै बिच भेट्ने योजना हुन्छ, उनीहरु भेट्छन् पनि । त्यसपछि उनीहरुको भेटघाट बाक्लिन्छ । एकदिन ति युवकले यौन प्रस्ताव राख्छन् । तर ति किशोरीले उनको प्रस्ताव स्वीकार गर्दीनन् ।

फेसबुकबाट नजिकिएका ति दुई बिच घनिष्टता बढ्दै जाँदा केहि फोटो तथा भिडियोहरु ति युवकले कैद गरेर राखेका हुन्छन् । र तिनै फोटो भिडियो सामाजिक संजालमा सार्वजनिक गर्दिन्छु भन्दै धम्याउन थाल्छन् । आफ्नो र घर परिवारको बेइज्जत हुने डरले ति किशोरी यौन प्रस्ताव स्वीकार्न बाध्य हुन्छिन् । केहि महिनापछि उनको महिनावारी रोकिन्छ । तर उनले कसैलाई भनेकी हुँदिनन् । दिनप्रति दिन गर्भ बढ्दै गएपछि आफन्तले केरकार गर्छन् र सोही युवकको घरमा जिम्मा लगाइदिन्छन् । केहि महिनापछि उनले छोरीलाई जन्म दिन्छिन् ।

अहिले उनको साथमा १९ महिनाकी छोरीे छिन् तर, श्रीमान्, सासु, ससुरा कसैले पनि माया गर्दैनन् । ति युवकले पनि वास्ता गर्दैनन् । श्रीमानको घर र माइती दुवैबाट अपहेलित र अस्विकृत भएकी ति किशोरीको बिचल्ली भएको छ ।

जानेबुझेका मानिस पनि पिडित छन्
कुरा केहि वर्ष अघिको हो, एक युवती पेशाले संचारकर्मी । उनी पनि साइबर क्राइमको फन्दामा परिन् । एकजना चिनजानका व्यक्ति थिए, उनीहरुको चिनजान लामो समय देखिको थियो । दुवैले एकले अर्कालाई राम्ररी चिन्दथे । उनीहरु ीवस्तारै नजिकिँदै गए, प्रेम सम्बन्ध झाँगियो । केहि समयको प्रेम सम्बन्धमा रहेका उनीहरु बिच जव विचारमा वेमेल हुन थाल्यो तव सुरु भयो मानसिक तनाव । ति संचारकर्मीका प्रेमी भनिएका व्यक्तिले उनको नामको दुरुपयोग गरि फेसबुक खाता खोले, गुगलबाट खोजेर केहि अशोभनिय तस्विरहरु अपलोड गर्न थाले । त्यसपछि ति युवती र उनका चिनजानका साथी आफन्तहरुले सोधी खोजी गर्न थाले । पछि थाहा भयो कसैले नामको दुरुपयोग गरि नक्कली खाता खोलेर ब्याकमेल गरेको रहेछ । त्यस विषय प्रहरी कार्यालय सम्म पुग्यो, शंका लागेका व्यक्ति अर्थात युवतीको प्रेमी विरुद्ध निवेदन दिएपछि केहिदिनमा दुवै पक्षबिच छलफल भयो । ति युवकले आफ्नो गल्ती सुधारे त्यसपछि दुवै बिच मेलमिलाप भयो र ठुलो दुर्घटना हुन बाट जोगियो ।
यि त केहि उदाहरण मात्रै हो । कतिपय घटना प्रहरी सम्म पुग्दैन र दबाएर राखिन्छ । पछिल्लो समय साइबर अपराधका घटना प्रहरी सम्म पुग्ने क्रम भने बढेको छ ।

सात वर्षमा दुई हजार भन्दा धेरै बालबालिका पिडित
नेपाल प्रहरी अन्तर्गत साइबर व्यूरोका अनुसार पछिल्लो सात वर्षमा दुई हजार भन्दा धेरै बालबालिका पिडित भएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८१/०८२ सम्ममा २ हजार ८८ बालबालिका प्रभावित भएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को मंसिर १५ सम्ममा २ हजार ३ सय १२ जना पिडित भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा १० जना बालिका पिडित भएका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा यो संख्या बढेर १०४ जना पुगेको थियो । जसमा बालिका ८८ जना र बालक १६ जना पिडित भएका थिए ।
यसैगरि आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या बढेर २०८ पुग्यो । त्यस वर्ष ५६ जना बालक र १५२ जना बालिका पिडित भएको साइबर व्यूरोको तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ४१ जना बालक र १४२ जना बालिका गरि १८३ जना पिडित भए । आर्थिक वर्ष २०७९/०८० मा यो संख्या केहि घटेको पाइएको छ । त्यस आर्थिक वर्षमा १७६ जना बालबालिका पिडित भएका छन् । जसमा बालक ४६ र बालिका १३० जना साईबर अपराधका घटनाबाट पिडित भएको देखिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा यो संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ६३५ जना बालबालिका पिडित भएको साईबर व्यूरोले जनाएको छ । जसमा बालक २५३ र बालिका ३८२ जना प्रभावित हुँदा आर्थिक वर्ष २०८१/०८२ मा ७७२ जना पिडित एवम् प्रभावित भएको पाइएको छ । यस वर्ष ३५१ जना बालक र ४२१ जना बालिका पिडित भएको तथ्यांक छ ।

आर्थिक वर्ष २०८१/०८२ मा यस्तो अपराधबाट पिडित भएपछि साइबर व्युरो मै निवेदन दिनेको संख्या सबैभन्दा धेरै छ । साइबर व्युरोमा ६३८ जनाले निवेदन दिएको पाइएको छ । साइबर अपराधबाट पीडित बालबालिकाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढि मधेश प्रदेशमा ५७ जना रहेका छन् । त्यसपछि कोशी प्रदेशमा २६ जना, लुम्विनीमा २३, बागमती र गण्डकीमा ९/९ जना, कर्णाली प्रदेशमा ६ जना तथा सुदुरपश्चिम प्रदेशमा ३ जना बालबालिका पिडित भएको पाइएको छ ।

चालु आर्थिक वर्षको साँढे पाँच महिनामा मात्रै २२४ जना बालबालिका पिडित भएका छन् । गएको साउन देखि मंसिर दोस्रो सातासम्म आइपुग्दा ८७ जना बालक र १३७ जना बालिका पिडित भएको साईबर व्यूरोले जनाएको छ ।

साइबर अपराधबाट पीडित बालबालिकाको विवरणलाइ हेर्दा विभिन्न प्रकारका ७ वटा अपराधका घटनाबाट पीडित भएको देखिन्छ । सबैभन्दा बढी नक्कली खाताबाट ५०.१३ प्रतिशत बालबालिका साइबर अपराधको घटनाबाट पीडित भएका छन् ।

साइबर अपराधबाट पिडित हुनेमा बालिका धेरै
आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को साँढे पाँच महिना सम्ममा २ हजार ३ सय १२ जना पिडित भएका छन् । यसमा पिडित बालक र बालिका छुटयाएर हेर्दा पिडित बालिकाको संख्या बढि छ । पछिल्लो साँढे सात वर्षको तथ्यांकलाई हेर्ने हो भने ८५० जना बालक रहेका छन । यहि अवधिमा साइबर अपराधका घटनाबाट पिडित बालिकाको संख्या अस्वभाविक छ । यस्तो संख्या १ हजार ४६२ जना छ ।

अभिभावको छैन निगरानी
पछिल्लो समय मोवाइल, सामाजिक संजालमा बालबालिकाको लगाव बढिरहेको छ । तर अभिभावकले निगरानी गर्न सकेका छैनन् । कामकाजी अभिभावकहरु आफ्ना साना बालबालिकालाई मोवाइल दिएर घण्टौँ व्यस्त हुन्छन् । कतिपय अवस्थामा त मोवाइल नै बालबालिकाको साथी बन्न पुग्छ । त्यो समयमा घण्टौँ सम्म मोवाइलमा अल्झिने बालबालिकाले मोबाइलमा कस्ता सामग्री हेर्छन्, सामाजिक संजालमा कस्ता साथी बनाउँछन्, उनीहरुसँग के कस्ता कुराकानी हुन्छ ? भन्ने बारे धेरै जसो अभिभावकहरु अनविज्ञ हुन्छन् । फलस्वरुप बालबालिकाहरु अनलाइन हिंसामा परिरहेका हुन्छन् ।

आफ्ना बालबालिकाको निगरानीमा अभिभावक चनाखो रहनुपर्ने बालअधिकारकर्मी झविन्द्र ज्ञवालीको सुझाव छ । ज्ञवाली भन्छन् – ‘सामाजिक संजालमा आफ्ना नानी बाबुहरु के कस्ता सामग्री हेर्छन्, कस्ता मानिसहरु बोल्छन् भन्नेबारे त जानकार हुनैपर्छ ।’
तर उनीहरुको निगरानी राख्दा भने ख्याल गर्नुपर्छ । किनभने बालबालिका कुनै नकारात्मक कुरालाई महत्व दिइरहेका छन् भने अभिभावकले देख्ने होकि भनेर डर, लाजका कारण सजक हुन्छन् । यस्तोमा उनीहरुले थाहा नपाउने गरि निगरानी गर्ने र सकेसम्म सम्झाउने, उनीहरुसँग साथी जस्तो बनिदिने, विश्वासिलो बन्नु सबैभन्दा बुद्धिमानी हो, ज्ञवालीको धारणा छ ।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको अवस्था
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक गएको वर्ष माघमा राष्ट्रिय सभामा दर्ता भएको थियो । विध्ययक तत्कालिन सरकारका संचारमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितीमा पठाएको विध्ययक अहिले विचाराधिन अवस्थामा रहेको राष्ट्रिय सभाका सहायक प्रवक्ता एवम् उपसचिव अनन्त प्रसाद कोइरालाले जानकारी दिए ।
अब संसदले कानुनलाई नियन्त्रणमुखी होइन, नियमनमा आधारित बनाउन जोड दिनुपर्छ ।

नितिको खाँचो छ, तर कस्तो
नेपालमा संचालनमा रहेका सामाजिक संजालको नियमन गर्ने निकाय छैन । सामाजिक संजालमा खाता (अकाउन्ट) खोल्ने मापदण्ड देखि लिएर संचालनमा कुनै सिमा निर्धारण छैन । हुन त पछिल्लो समय सामाजिक संजाल बन्दको कारण देखाएर सामाजिक संजालकै सहयोगमा राजनितिक परिवर्तन भएको छ ।
तर, सामाजिक संजाल नियमन अहिलेको मुख्य आवश्यकता र चुनौती दुवै रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर बताउँछन् । सामाजिक संजालको नियमन गर्दै गर्दा सरकारले अत्यन्त संवेदनशिलता अपनाउनुपर्छ, सामाजिक संजाल नियन्त्रणमुखी होइन नियमनमुखी हुन जरुरी छ ।
साथै अभिभावक पनि सचेत हुनुपर्नेमा सारुको जोड छ । उनले भने – ‘सामाजिक संजालमा आफ्ना नानी बाबुहरु कसरी प्रस्तुत हुन्छन् भनेर अभिभाव सचेत नहुँदा बालबालिकाहरु साइबर हिंसामा परेका थुप्रै उदाहरण छन््, त्यसैले सामाजिक संजालको सहि प्रयोगबारे अभिभावक र विद्यालय पनि उत्तिकै सचेत हुनुपर्छ ।’
अहिले राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितीमा विचाराधिन अवस्थामा रहेको सामाजिक सञ्जाल नियमनसम्बन्धी विध्ययक अघि बढ्नुपर्छ ।

सामाजिक सञ्जालको सकारात्मक उपयोगलाई प्रवर्दन गर्न र गलत सुचना, साइबर अपराध जस्ता कार्यलाई निरुत्साहित गर्न नितिको खाँचो छ । साथै सरकारले सामाजिक सञ्जालसम्बन्धी निति बनाउँदा अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत गोपनीयता र डिजिटल सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा ध्यान दिन जरुरी छ ।
साइबर अपराध, ठगी, साइबर बुलिङ तथा डिजिटल माध्यमबाट हुने हिंसालाई कानुनी परिभाषा दिई स्पष्ट सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा कार्यालय राखेर कुनै समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था गर्नु आवश्यक छ ।
बालबालिकालाई साइबर अपराधको विषयमा घर र विद्यालयमा सिकाउन जरुरी छ ।

Leave a Comment