काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग करिब साढे दुई घण्टा लामो छलफल गरेका छन्। ललितपुरको कुपण्डोल–ज्वागलस्थित बालेनका सल्लाहकार कुमार बेनको निवासमा भएको छलफलपछि लामिछाने बाहिरिएका हुन्।
सामान्यतया सञ्चारकर्मीसँग खुलेर कुरा गर्न रुचाउने लामिछानेले बिहीबार ललितपुरको ज्वागलमा बालेनसँग भेटेपछि प्रस्ट भएर प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ? ’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न’
यसअघि मेयर शाहले भौतिक, ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए। स्रोतका अनुसार शाह र लामिछानेबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित भएर एक्लाएक्लै संवाद भएको हो।
छलफल जारी रहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका थिए। तर भेटघाटको औपचारिक विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन्।






