संसारकै सबैभन्दा ठूलो पूँजीवादी अर्थतन्त्र भएको अमेरिकाको न्युयोर्क शहरमा हालै समाजवादको नारा घन्किएको छ। नारा घन्काउने व्यक्ति हुन् — जोहरान मम्दानी, जो हालै न्युयोर्क शहरका सबैभन्दा कान्छा मेयरका रूपमा निर्वाचित भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेर विरोध गरेका पात्र मम्दानीको यो जितले न्युयोर्क मात्र होइन, सारा विश्वको ध्यान तानेको छ। अहिले उनी वैश्विक मिडियाका प्रमुख समाचार पात्र बनेका छन्।
विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका ममदानी नेपालमा पनि समाचारका विषय बनेका छन् । न्युयोर्कमा मेयरमा निर्वाचित भएपछि नेपाली रेष्टुरेन्टमा पुगेर मम खाएका पछि नेपालका अधिकास मिडियामा उनी समचारको शिर्षक बनेका छन् ।
मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालीगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका थिए । ३४ वर्षीय ममदानीले नेपाली रेष्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स ९ट्विटर० अकाउन्टमा सेयर गरेका छन् ।
मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो’ उनले लेखेका छन्, ‘तर, मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’
जोहरान मम्दानी न्युयोर्कमा सुरुमा खासै परिचित थिएनन तर उनले निर्वाचन अभियानका क्रममा अघि सारेका समाजवादको नाराले उनलाई अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा नगरप्रमुखका रुपमा निर्वाचित गर्यो । जोहरान मम्दानी अब न्युयोर्क सिटीका मात्र होइन, विश्व राजनीतिमा युवा समाजवादी नेतृत्वको नयाँ आशाका रूपमा हेरिन थालेका छन् ।
समाजवादी जनमुखी मुद्दाले जिताएका न्युयोर्कका कान्छा मेयर
अमेरिकाको न्युयोर्क सहरका युवा राजनीतिज्ञ जोहरान मम्दानीले अघि सारेका समाजवादी नाराहरूले अमेरिकाभर नयाँ राजनीतिक चेतना र बहसको लहर ल्याएका छन् । पूँजीवादको केन्द्र मानिने अमेरिकामा समाजवादका यस्ता नारा सार्वजनिक रूपमा घन्किनु आफैंमा ऐतिहासिक घटना मानिएको छ ।
मम्दानीले आफ्नो चुनावी अभियानमा निःशुल्क बाल हेरचाह, सार्वजनिक यातायातको विस्तार, र स्वतन्त्र बजारमा सरकारी हस्तक्षेपजस्ता वामपन्थी झुकाव भएका मुद्दा उठाएका थिए । उनका यी नाराहरूले श्रमिक वर्ग, विद्यार्थी, र मध्यम आय वर्गका नागरिकबीच गहिरो प्रभाव पारेका छन् ।
उनले आर्थिक असमानता, आवासको पहुँच, स्वास्थ्य सेवा र जीवनस्तर सुधारका सवाललाई प्रत्यक्ष रूपमा जोड्दै “कामकाजी वर्गको आवाज” बन्न सफल भएका छन् । उनले भनेका छन् “साँचो प्रगति त्यतिबेला मात्र सम्भव छ, जब प्रत्येक नागरिकलाई आवास, शिक्षा र स्वास्थ्य समान रूपमा उपलब्ध हुन्छ।”
मम्दानीले आफ्नो निर्वाचन अवधिभर समाजवादी विचारधारामा आधारित विभिन्न जनमुखी मुद्दा अघि सारेका थिए । उनका योजनाहरूले सहरलाई निम्न वर्गका मानिसका लागि अझ सस्तो, सुरक्षित र बस्न योग्य बनाउन सकिने विश्वास दिलाएका छन् ।
मम्दानीका मुख्य नीतिगत प्रस्तावमा सहरभर निःशुल्क बस सेवा सञ्चालन, लापरबाही गर्ने घरधनीहरूका लागि भाडा रोक्का र जबाफदेहीताका प्रावधान कडा पार्ने, तथा सस्तो मूल्यका किराना पसलहरूको शृङ्खला स्थापना गर्ने योजना प्रमुख छन् ।
त्यसैगरी उनले ६ हप्तादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि निःशुल्क बाल हेरचाह सुविधा, स्थिर घरभाडासहित सरकारी आवासको निर्माण तीन गुणा बढाउने, र घरधनीहरूलाई जिम्मेवार बनाउँदै स्थायी आवासको व्यवस्था बलियो पार्ने प्रस्ताव अघि सारेका छन् ।
उनका समर्थकहरूले यी योजनालाई “न्युयोर्कको नयाँ समाजवादी युग” को सुरुवातको रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले मम्दानीका वाचा अत्यधिक आदर्शवादी भएको टिप्पणी गरेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, मम्दानीले कामकाजी वर्गका मतदाताका वास्तविक आर्थिक समस्याहरू बुझ्ने र त्यसको समाधान प्रस्तुत गर्ने दक्षता प्रदर्शन गरेका छन् ।
यसअघि, आजभन्दा करिब १२ वर्षअघि न्युयोर्कका मेयर बनेका बिल डे ब्लाजियोले पनि आर्थिक र सामाजिक असमानता अन्त्य गर्ने वाचा गरेका थिए । अब मम्दानीसँग समान दृष्टिकोण राख्ने अमेरिकी वामपन्थीहरूले उनको नेतृत्वमा नयाँ पुस्ताको उदारवादी शासनको उदाहरण स्थापित हुने विश्वास गरेका छन् ।
मम्दानीका नाराले आज अमेरिकामा समाजवादलाई केवल राजनीतिक सिद्धान्त होइन, जीवनसँग प्रत्यक्ष जोडिएको आन्दोलनको रूप दिएका छन् ।
को हुन् मम्दानी ? जसले पूँजीवादको केन्द्र मानिने अमेरिकामा समाजवादका नारा घन्काए
मम्दानी युगान्डाका शिक्षाविद् महमुद ममदानी तथा भारतीय फिल्म निर्माता मीरा नायरका छोरा हुन्। उनी युगान्डाको राजधानी कम्पालामा जन्मिएका हुन् ।
उनी सात वर्षको हुँदा उनको परिवार न्यूयोर्क पुगेको थियो । ब्रोंक्स विज्ञान स्कुलमा भर्ना भएका उनले पछि गएर बोड्विन कलेजमा अफ्रिकाली अध्ययनमा आफ्नो उच्च शिक्षा पुरा गरे । अध्ययनकै क्रममा उनले आफ्ना साथीहरूसँग मिलेर ‘जस्टिस फर प्यालेस्टाइन’ नामको विद्यार्थी समूह पनि स्थापना गरेका थिए ।
राजनीतिमा आउनु अघि उनी आवास सल्लाहकारको काम गर्थे । जसमा उनको काम क्विन्स क्षेत्रमा निम्न आय भएका मानिसलाई विविध कारण उनीहरू बसेको घरबाट निकालेको अवस्थामा उनीहरूलाई सघाउनु थियो ।
उनले आफ्नो मुस्लिम पहिचान पनि आफ्नो अभियानको हिस्सामा समेटेका थिए । उनी आफ्नो अभियानका दौरान नियमित रूपमा मस्जिद जान्थे । साथै उर्दु भाषामा सहरको कष्टकर जनजीवनबारे भिडियो बनाउने गर्थे ।
यस वर्षको सुरुमा, उनले ब्रुकलिनमा बस्ने २७ वर्षीया सिरियाली कलाकार रमा दुवाजीसँग विवाह गरेका थिए । उनी ¥यापर पनि हुन् ।






