अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला

मुख्य खबर NFM संवाददाता शनिबार जेष्ठ २४, २०८२

काठमाडौं :  अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् ।

भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।  उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ ।

मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो । घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो ।

मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।  घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।

 

Leave a Comment