काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको र त्यसमा आज थप छलफल गरेर टुंग्याइने मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । वार्ता सहमति नजिक पुगेको नेपाल शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँले आफुहरूले राखेको ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा आन्दोलनको स्वरुप फेर्ने बताए।
थापाका अनुसार अहिले बिहानै महासंघ आन्तरिक छलफलमा जुटेको छ। रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय हुने थापाले जानकारी दिनुभयो । आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघले जनाएको छ ।
आज पनि बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलन शुरु हुनेछ। सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहेको भन्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संवादमा हुनेहरू डटेर माग मुद्दामा लडिरहेकोले शिक्षकहरूलाई आन्दोलनलाई मर्यादित र अनुशासित गराउन अनुरोध गरेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ।






