काठमाडौँ : शिक्षकहरुले आज बिहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन् ।
१९ दिनसम्म आन्दोलन गर्दा पनि माग पुरा हुने छाट नदेखिएको भन्दै आन्दोलन अझै कडा पार्दै ९ बजेदेखि नै आन्दोलन गर्ने जनाएको छ । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन । तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ । यसैबिच नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ ।
महासंघले शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ । संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै पक्षसँग महासंघको आग्रह छ ।






