मयादित महिनावारी सम्बन्धि चारदिने अन्तर्राष्ट्रिय मिडिया तालिम आज काठमाडौंमा सम्पन्न भएको छ । दक्षिण गोलाद्धीयल मर्यादित महिनावारी सञ्जाल (Global South Coalition for Dignified Menstruation) को आयोजना भएको तालिममा नेपालसहित कश्मीर, पाकिस्तान, श्रीलंका, भारत र केन्याका पत्रकाहरुको सहभातिा भएको तालिममा महिनावारीलाई मानव अधिकार, लैंगिकता, समावेशी दृष्टिकोणबाट हेर्दै जीवन चक्रभरि यसको महत्वबारे छलफल भएको थियो ।
तालिमका क्रममा सहभागि पत्रकाहरुले महिनावारीसँग सम्बन्धित विभेदकारी अभ्यास, नीति र कानुनी खाडलको बिस्तृत रुपमा अध्ययन र मुल्यांकन गरेका थिए ।
तालिमका क्रममा महिनावारी हुने र महिनावारी नहुने दुवैले महिनावारीसम्बन्धी आफ्ना व्यक्तिगत अनुभव साटासाट गरेका थिए । दक्षिण गोलाद्धीयल मर्यादित महिनावारी सञ्जालका सचिवालय सदस्य तथा पाकिस्तानका सहभागि इरफान हुसेन वाबकका अनुसार सबै देशहरुमा महिनावारीका सम्बन्धमा हुने विभेद झण्डै उस्तै रहेको निष्कर्षमा सहभागीहरू पुगेका थिए ।
सञ्चार माध्यममा महिनावारी सम्बन्धी सामग्रीको विश्लेषण गर्दा सहभागीहरूले महिनावारीलाई ‘स्वच्छता’ वा ‘सेनेटरी प्याड’ मा मात्रै सीमित राखेर प्रस्तुत गरिएको पत्ता लगाएका थिए । यो शैलीले महिनावारीका बारेमा रहेको गलत बुझाइलाई अझै संस्थागत गरिरहेको र मर्यादाको सवालमा नीति तहसम्म पुग्न नसकेको इरमाफनले बताए ।
सहभागीहरूले यस तालिमले आफूहरूलाई महिनावारी विभेदको गहिरो असर र यसलाई मर्यादित बनाउनुपर्ने कारणका बारेमा सजग गराएको बताए ।
उनीहरू महिनावारी सम्बन्धी भ्रम, महिनावारी विभेदले सिर्जना गर्ने असमान शक्ति सम्बन्ध र संरचनागत असमानता बुझ्न मद्दत पुगेकोमा एकमत थिए ।
केन्याका सहभागि मारिएन अनयाङ्गो मुगाण्डा भनिन्, “महिनावारी लुकाउनु पर्ने, लाज मान्नु पर्ने वा महिनावारी हुर्नेहरूप्रति अपमानजनक व्यवहार गर्नु पर्ने कुरा होइन। मेरो दशेमा पनि महिनावारी विभेदका विषयमा गहिरो छलफल भएको छैन भन्ने तालिममा सहभागि भएर मात्रै जानकारी पाए ।”
तालिमका सहभागीहरूले अपमानजनक विभेदलाई मिडिया अभियानमार्फत चुनौती दिनुपर्नेमा जोड दिएका थिए । मिडिया विज्ञ तथा सहप्राध्यापक डा. समीक्षा कोइरालाले महिनावारीलाई मानव अधिकार, लैंगिक विभेद, लिङ्ग आधारित हिंसा, र संरचनागत विभेदको दृष्टिकोणबाट हेर्नुपर्ने बताइन । उनका अनुसार महिनावारी महिला र पुरुषको मात्रै मुद्दा नभएर लैंगिक विविधता र एउटा विश्वव्यापी मुद्दा हो ।
Global South Coalition for Dignified Menstruation का संस्थापक तथा मानव अधिकारकर्मी डा. राधा पौडेलले मिडियाले मर्यादित महिनावारीको आवाज बुलन्द पार्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिइन् ।

उनले भनिन्, “त्यसैले हामी नेपाल र विश्वभर पत्रकारहरूका लागि मर्यादित महिनावारीसम्बन्धी तालिम सञ्चालन गरिरहेका छौं । अझ महत्वपूर्ण कुरा मर्यादित महिनावारी हरेकको सरोकार हो।”






