प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै

मुख्य खबर NFM संवाददाता शनिबार बैशाख ६, २०८२

काठमाडौं :  प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए । तर, शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नु नै आफूहरूको बटमलाइन हुने भनेपछि शिक्षक राति साढे एक बजे रित्तोहात फर्किएका थिए ।

सरकारले वैशाख १२ गते शुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ । तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्किने शिक्षकहरूको अडान छ । हिजोको वार्ता असफल भएपछि महासंघले आज पनि प्रदर्शन जारी राख्ने भएको छ । समग्र परिस्थितिको मूल्यांकन गर्दा आन्दोलन तत्काल रोक्न नसकिने भन्दै सुवेदीले शनिबार पनि दिउँसो १२ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

उनीहरुले आन्दोलन नछाडेपछि कक्षा १२ को परीक्षामा असर पर्नसक्ने सम्भावना बढेको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सार्नेबारे तत्काल कुनै निर्णय नभएको बताएको छ ।

Leave a Comment