काठमाडौँ : शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने बताउनुभयो । तोकिएको मितिमा परीक्षा सञ्चालन नभएको खण्डमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने उहाँको भनाइ छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक क्यालेन्डरमा असर पर्ने भन्दै उहाँले चाँडै समस्याको समाधान भएर काममा फर्किनेमा बोर्ड आशावादी रहेको उल्लेख गर्नुभयो ।
शिक्षकहरू परीक्षामा सहभागी हुने वा नहुनेमा अन्योल भइरहेका बेला बोर्डले भने आन्तरिक तयारी अगाडि बढाएको छ । आन्तरिक तयारी बोर्डले गरिरहे पनि तोकिएको मितिबाट परीक्षा हुने वा नहुनेमा बोर्ड नै अन्यौलता देखिएको छ । बोर्डले परीक्षामा सहभागी हुन शिक्षकहरू अनुरोध समेत गरेको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न अनुरोध गरेको हो ।
यसैगरि शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गर्दा काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द भएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलन गरिरहदा सरकारले आलटाल गरेको भन्दै उनिहरुले आनदोल झन् चर्काउँदै गएका छन् । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।
महासङ्घले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ । महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको हुन् ।