काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति संसद्ले शोक प्रस्ताव पारित गरेको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएका बोहोराको निधनप्रति शोकप्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
यो चालु हिउँदे अधिवेशनको अन्तिम बैठक हो । आज राति १२ बजेबाट हिउँदै अधिवेशन अन्त्य हुँदै छ ।
कोरोनापछि बोहोराको घाँटीमा समस्या आएको थियो । ७४ वर्षको उमेरमा निधन भएको हो ।
बोहोरा ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित हुनुभएको थियो । उँहाले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गर्नु भएको थियो ।
बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोपटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रूपन्देहीबाट सदस्य निर्वाचित हुनुभएको थियो । उँहा ०४३ मा पनि रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उँहा ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रूपन्देही–२ बाट निर्वाचित हुनुभएको थियो । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बन्नुभएको थियोे । त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री हुनुभएको थियो । उँहा ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बन्नुभएको थियोे ।






