बागमती प्रदेश बजेट खर्च २५ प्रतिशत मात्र, राजस्व बर्सेनी घट्दै

मुख्य खबर NFM संवाददाता शनिबार चैत्र ९, २०८१

बागमती :  बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि फागुन महिनासम्ममा कुल बजेटको करिब २५.६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आव २०८१÷८२ को आठ महिनाको अवधिमा कुल बजेटको २५.६२ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले जानकारी दिए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

सो अवधिमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७.६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८.२२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

Leave a Comment