काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। विश्वविद्यालय क्याम्पसमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।
स्ववियु निर्वाचनको तयारी भइरहेका वेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो संगठनले माग गरेको छ ।
यसैबीच अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिनु भयो । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने भएको छ ।