११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मुख्य खबर NFM संवाददाता शनिबार फाल्गुन २४, २०८१

काठमाडौँ : ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ शनिवार अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने बताउनुभयो ।
यसैबिच प्रतिनीधी सभाकी उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभयो । उहाँले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने बताउनुभयो । उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको जिकिर गर्नुभयो ।
यसैबिच राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताउनुभयो । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उहाँको भनाई छ ।
यसैबिच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै उहाँले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Comment