सङ्क्रमणकालीन न्यायको अन्योल अन्त्य गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

मुख्य खबर NFM संवाददाता शुक्रबार फाल्गुन २३, २०८१

काठमाडौँ : सङ्क्रमणकालीन न्यायको अन्योल अन्त्य गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका घटनामा पीडितलाई न्याय दिलाउन तथा शान्ति प्रक्रिया टुंगोमा र्पुयाउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ ।
आयोगका अनुसार आयोग गठन हुन नसक्दा पीडितहरूमा नैराश्यता गहिरिँदो छ । सङ्क्रमणकालीन न्याय अन्योलमा रहँदा शान्ति प्रक्रिया अधुरो रहने र पीडितको न्यायको आशा कमजोर हुँदै जाने खतरा आयोगले औंल्याएको छ । आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३९३० अनुसार पुनःसिफारिस समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ ।
यसअघि दुईपटक गठन गरिएका आयोगहरूले पूर्ण रूपमा काम सम्पन्न गर्न नसकेको स्मरण गराउँदै आयोगले अबको प्रक्रिया पारदर्शी, प्रभावकारी र पीडितमैत्री हुनुपर्नेमा जोड दिएको छ । न्यायको प्रतीक्षामा रहेका पीडितहरूका लागि आयोगको ध्यानआकर्षणसँगै यो सरकारको प्रतिबद्धताको परीक्षा हुनेछ ।

Leave a Comment