पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने

मुख्य खबर NFM संवाददाता बुधबार माघ २३, २०८१

काठमाडौँ :  सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका छन् । हिजो ओपीडी सेवा ठप्प पारेका उनीहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

आन्दोलन थालेको ८ दिन बितिसक्दासमेत माग पूरा नभएपछि थप सशक्त रुपमा लाग्नुपरेको उनीहरुको भनाइ छ । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आवासीय चिकित्सकहरु आन्दोलित छन् । उनीहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर÷प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।

आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

Leave a Comment