काठमाडौं : आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ । सन् २०२२ को एक अध्ययनले विश्वभर करिब दुई करोड क्यान्सरपीडित रहेका देखाएको छ । जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा पनि नसर्ने रोग लागेकाहरूको संख्या बढिरहेको छ ।
एक दशकको अवधिमा १३ प्रतिशत क्यान्सर रोगी थपिएका छन् । सन् २०२२ मा नेपालमा क्यान्सरका २२ हजार बिरामी थपिएका थिए । यसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत नसर्ने रोग कारक बनेको छ । यसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको सरकारी तथ्यांक छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो ।
यसैबीच विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो। नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ । यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको बताउनुभयो ।






