काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।
पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा हुनेछ ।
अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्यांगर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता वृद्धिका लागि पूर्वाधार विस्तारजारी रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनु भयो ।
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने उँहाले बताउनु भयो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विमानस्थलभित्र हाल तीनवटा आयोजनाको काम भइरहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत मात्र पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुर्पयाँ लाग्ने प्राधिकरणले जनाएको छ ।






