काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिन्ुभयो ।
संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुनेछ। यस्तै संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे ठोस योजना बनाउने प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।
बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनुहुने छ । सरकारले संसद् नबोलाएर अध्यादेश ल्याएको विषयलाई प्रतिपक्षी दलले संसदमा जोडतोडका साथ उठाउने तयारी गरिरहँदा त्यसको प्रतिवादको रणनीति पनि एमालेले बनाउनेछ ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक राखेर आफ्ना सांसदलाई अध्यादेशको पक्षमा बोल्न निर्देशन दिइसकेको छ । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारबाट शुरु हुँदैछ ।