रवि लामिछानेको थुनछेक बहस आज पनि जारी

मुख्य खबर NFM संवाददाता आइतवार माघ १३, २०८१

काठमाडौं : रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुभएको थियो ।

यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ । जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस  नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताउनु भयो  । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने उँहाले बताउनु भयो  । शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गर्नु भएको थियो  । उँहाहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उँहा आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।  आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी)  राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ  ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार  रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित हुनुभएको थियो ।

Leave a Comment