काठमाडौं : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु गरिने भएको छ । एक हजार एक सय २६ मिटर लामो सुरुङमार्गका लागि मुख्य टनेल खनेर झण्डै साढे एक मिटर मात्रै बाँकी राखिएको छ । बाँकी भाग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि छिचोलिनेछ । यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक हजार एक सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् । मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताउनुभएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि अधिकारीले बताउनुभएको छ ।
यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गुरुसिंगे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् । आज दिउँसो एक बजे सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी भएपछि उनी सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गुरुसिंगे सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति एवम् विस्तार हुन लागेको हो । सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । बुटवल–गुरुसिंगे सडक विस्तार गर्दा बुटवल–नारायणगढ सडकखण्डमा जस्तो सबै पिच एकैपटक भत्काइने छैन । सबै सडक भत्काउँदा यात्रा कष्टकर हुने भएकाले सुरुमा दुवै छेउँका सडक बनाइसकेपछि मात्र बीचको भाग भत्काएर काम गरिने बुटवल–गुरुसिंगे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले बताउनुभयो ।