सूर्यविनायक-धुलिखेल सडक दैनिक पाँच घण्टा बन्द गर्ने तयारी

मुख्य खबर NFM संवाददाता बिहिबार माघ १०, २०८१

काठमाडौं : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।

२०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य शुरु गरेको थियो ।

भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरूले आयोजनासँग माग गरेका छन्। आयोजनाले सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखे पनि नगरप्रमुखहरूले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् ।

राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरूको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने धारणा राखे। निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

 

यस्तै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै जनतालाई समस्या नपर्नेगरी स्थलगत अवलोकन गरेर मात्र आंशिकरूपमा बाटो बन्द गर्नुपर्ने बताउनुभयो ।

Leave a Comment