इजरायलले रिहा गरेका ३३ बन्धकहरूको सूचीमा नेपालका विपीन जोसी परेनन्

मुख्य खबर NFM संवाददाता आइतवार माघ ६, २०८१

काठमाडौं :  प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहनुभएका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणको सुचिमा पर्नुभएको छैन । इजरायलले हमाससँगको युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेपनि त्यसमा नेपाली विद्यार्थी विपिनको नाम समावेश नभएपछि उहाँको परिवारमा झनै चिन्ता थपीएको छ ।  ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुग्नु भएका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएको थियो ।

ती मध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना मात्रै जीवित रहेका छन् ।

यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीलाई फोनमार्फत अपिल गर्नुभएको थियो । राणासँगको कुराकानीका क्रममा सम्भव भएसम्म विपिनलाई पहिल चरणमै रिहा गर्न पहल गर्ने बताउनुभएको थियो । कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो । सम्झौताअनुसार ६ साता लामो पहिलो चरणमा ५ जना इजरायली सैनिकसहित ३३ जनालाई रिहा गर्ने र त्यसको बदलामा इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने उल्लेख छ ।

पहिलो चरणअन्तर्गतका ४२ दिनमा गाजा क्षेत्रमा रहेका इजरायली सेना मानिसको बसोबास भएका स्थानबाट फिर्ता हुने र प्यालेस्टिनीहरूलाई उत्तरी गाजास्थित आफ्नो घर फर्कने अनुमति दिइने र त्यहाँ मानवीय सहायता प्रदान गरिने जनाइएको छ ।

Leave a Comment