हेटौडा । मनहरी गाउँपालिका—४ हाँडीखोलाको मुसेधाप बस्ती खुल्न सकेको छैन । माघको चिसोसँगै झर्ने सीतको थोपा बिहानै बस्तीमा टलक्क टल्किरहेको हुन्छ । तर, बस्तिका छाप्रोमा रहेका मान्छेहरुका अनुहार सधै मलिन छन् । जहाँ बनकरिया समुदायको बसोबास छ । उनीहरुका सपना र वास्तविकताको टकराव प्रत्येक बिहान सूर्योदयसँगै सुरू हुन्छ । जंगलको गर्भबाट सरेर यो बस्तीमा आइपुग्दा उनीहरूले नयाँ जीवनको आशा बोकेका थिए । तर, सरकारको ढोकासम्म पुग्न नसकेको उनीहरूको आवाज आज पनि जंगलमै हराइरहेजस्तो छ ।
माघ ३ गते बिहीबार, वागमती प्रदेशसभाका पाँचजना सदस्यहरूको टोली बस्ती पुग्ने सूचनाले एकपटक त्यो आवाज फेरि सांसदको कानमा पु¥याउने उनीहरुको तयारी छ। बिहीबार हुने सार्वजनिक सुनुवाइका लागि उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य समिता खड्गी कुमारी मुक्तान, सार्वजनिक लेखा समितिका सदस्य गिर बहादुर तामाङ र अर्थ तथा विकास समितिका सदस्य सुना परियार सहभागी हुँदैछन् ।
बनकरिया समुदायले यसपटक आफूहरूको समस्यालाई गहिरो रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । उनीहरूको प्रमुख चिन्ता भनेको जमिनको स्वामित्व, शिक्षा, स्वास्थ्य, र रोजगारीको अवसरसँग छ । गाउँमा सबैभन्दा शिक्षित सन्तोष बनकरियाले भनिन, ‘हामीले विगतमा पनि समस्या उठाएका थियौं, तर त्यसको समाधान भने देखिएन । यो पटक हामी अझ संगठित र स्पष्ट रूपमा आफ्ना माग राख्नेछौं ।’
२०७८ साल कार्तिक २८ गते, जनपत्र मिडियाको संयोजनमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले पनि बस्तीमा नै पुगेर समस्या सुनेको थियो । तर, त्यसपछिको बजेटमा बनकरिया समुदाय समेटिएपनि बजेट कार्यान्वयनमा आएन । सुनुवाइमा उठाइएका मागहरू समाधान भएनन् । यस पटक भने प्रदेशसभाको टोलीसँग बनकरियाहरूले आफ्नो पीडा र चिन्तालाई थप प्रभावकारी रूपमा व्यक्त गर्ने सोच बनाएका छन् ।
६५ वर्षीया विष्णुमाया बनकरिया, बस्तीमा विगतदेखिका समस्या सम्झँदै वर्षौँदेखि जमिन आफ्नो नभएको पीडा र बाच्नका लागि लागि संघर्ष गर्दै आएका विषय प्रदेशसभाको टोलीलाई सुनाउने तयारी गरेको सुनाइन ।
२१ वर्षीया संगिता बनकरियाले आफूहरूका समस्या राख्नका लागि युवाहरूबीच विशेष तयारी भइरहेको बताइन्। “हामी महिला र युवाहरूको तर्फबाट आफ्ना मुद्दाहरू स्पष्ट रूपमा राख्नेछौं। यो हाम्रो अन्तिम आशा हो,” उनले भनिन् ।
प्रदेशसभाका सदस्य बस्तीमा आइपुग्ने खबरले बनकरियाको मनमा एकातिर उत्साह र अर्कोतिर शंका जन्माएको छ। “पहिले पनि हामीले कुरा राखेका थियौं, तर समाधान भएन। यसपटक पनि त्यस्तै भयो भने के गर्ने?” संगिता भन्छिन्।
तर यस पटक उनीहरूले आफ्ना समस्या अझ प्रस्टसँग राख्ने योजना बनाएका छन्। गाउँभरिका महिलाहरूले सामूहिक रूपमा गहिरा र साहसिक प्रश्नहरू सोध्ने निर्णय गरेका छन् ।
बनकरिया जातिको बसोबास मकवानपुरको मनहरी गाउँपालिका—४ मा मात्र रहेको छ । यहाँ २४ घरधुरीमा रहेका बनकरियाको संख्या ९३ रहेको छ । तर, राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले बनकरिया जातिको जनसंख्या १ सय ८० जना देखाएको छ । जनसंख्या वितरणको आधारमा चितवनमा बनकरियाको संख्या ७१ जना रहेको देखिन्छ । मकवानपुरमा बनकरियाको जनसंख्या उल्लेख छैन ।