रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु

मुख्य खबर NFM संवाददाता सोमवार पुस २९, २०८१

काठमाडौं : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

लामिछानेको तर्फबाट आइतबार बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले भने थुनछेक बहस शुरु नभएको भन्दै हिरासतमा पठाउन आदेश गरेको थियो ।

लामिछानेका तर्फबाट बहसका लागि १० जना कानुन व्यवसायीको वकालतनामा परेको अदालत प्रशासनले जानकारी दिएको छ । शुरुमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस शुरु गर्नेछन् ।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए। सो मुद्दामा ३९ जना प्रतिवादी छन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 

लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ ।

 

Leave a Comment