काठमाडौँमा १ लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने

मुख्य खबर NFM संवाददाता आइतवार पुस २८, २०८१

काठमाडौँ :  काठमाडौँ जिल्लामा १ लाख १० हजार २६३  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका १ लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिनु भयो ।

उँहाका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।

काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा ४ हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताउनु भयो ।

१ हजार १०१ विद्यालय र १४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप लगाइनेछ । खोपका लागि २ हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनु भएको छ ।

उँहाले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताउनु भयो ।

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरुले बताउनु भएको छ ।

Leave a Comment