काठमाडौं : पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । उँहाले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाललाई विस्तार गरेको इतिहास छ । उहाँको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरिँदै ३०३ औं जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ। प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताउनु भएको छ । पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै उँहाले ससाना राज्यलाई एकीकरण गरेर पृथ्वीनारायण शाहले आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताउनु भएको छ । विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको तर्क उँहाले गर्नु भएको छ ।
यस्तै पराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पु¥याएको बताउनु भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसमा शुभकामना व्यक्त गर्दै यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।