पर्यटन प्रवर्धन गर्न इलाममा तीनदिने पदयात्रा सुरु

मुख्य खबर NFM संवाददाता बुधबार पुस २४, २०८१

काठमाडौं :  पर्यटन प्रवर्धन गर्न ‘निशान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा गरिँदैछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निशान फर्काइएको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’ निर्माण गरिएसँगै पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले जनाएको छ ।

नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निशान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ। यही पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रा गर्ने भएको उनले जानकारी दिनुभयो । पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन्।

Leave a Comment