अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

मुख्य खबर NFM संवाददाता मङ्लबार पुस २३, २०८१

काठमाडौँ :  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम चाँडै अगाडि बढाइने भएको छ। मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डीपीआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिनु भयो ।

यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण शुरु गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएको र तत्काल परीक्षणका लागि पाइप लाइनबाटै पेट्रोल र मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनु भयो ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी नियमित आयात सुरु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । जनवरी २०२५ देखि पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने आचार्यले बताउनु भयो ।

 

Leave a Comment