काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका–७ बाट नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ३ सय ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका–१२ बस्ने २२ वर्षीय दिपसन राई समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र आईपीपीएल १ सय ५० एम्पुल सहित नवलपरासी पश्चिम पाल्दिनन्दन गाउँपालिका–३ बेलपुर बस्ने २१ वर्षीय अनिल प्रसाद गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ५४२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनकुटा, छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तेह्रथुम, लालीगुराँस नगरपालिका–२ बसन्तपुर बस्ने ३२ वर्षीय विकाश श्रेष्ठ, मेन्छयायेम गाउँपालिका–६ थाम्वेन बस्ने २६ वर्षीय राजिव सम्वहाम्फे, धनकुटा, धनकुटा नगरपालिका–१ हिले सिरान बस्ने २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङ रहेका छन् ।
प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को.२६ प ९२९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार विकाश र राजिवलाई करिब २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको थियो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ केवल र सुजनबाट खरिद गरेको खुल्न आएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले केवल र सुजनलाई समेत करिब ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, पचरौता नगरपालिका–४ इनर्वाटोलबाट लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सिम्रौनगढ नगरपालिका–२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका–६ पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ९० ट्याब्लेट र ट्रमानिल २ सय ९० ट्याब्लेट सहित दमक नगरपालिका–८ बस्ने २२ वर्षीय नरेश खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका–७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८३ ट्याब्लेट र डिभोक्सिन २४ ट्याब्लेट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–७ रमौली बस्ने २५ वर्षीय बिजय घिसिङ, सोही नगरपालिका–६ लोथर बस्ने २७ वर्षीय कुल बहादुर थिङ र चितवन राप्ती नगरपालिका–१ बस्ने २६ वर्षीय राजेश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने २० वर्षीय सुवाष थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।