काठमाडौं : हुस्सु र कुहिरोका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि हुस्सु र कुहिरा लाग्नुका साथै चिसो ह्वातै बढेकाले त्यहाँको जनजीवन प्रभावित बनेको हो ।
तराईका विभिन्न जिल्लामा शीतलहरका कारण कतिपय मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा लगायतका जिल्लाको तापक्रम दिनदिनै घट्दै गइरहेको छ । तराईमधेशका अधिकांश जिल्लामा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ । यसैबीच प्रदेश सरकारले चिसो प्रभावित जिल्लाहरुमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । यसैगरि मौसम विज्ञान विभागले शीतलहर, हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसैविच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ । काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले बताउनु भयो । उँहाका अनुसार बाँकी भूभागमा पनि एक–दुई ठाउँमा छिटफुटदेखि हल्का पानी पर्ने स्म्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको बताउँदै उनले अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको बताउनु भयो । तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ ।