एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

मुख्य खबर NFM संवाददाता आइतवार पुस २१, २०८१

काठमाडौं :  नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान  ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ  ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।

उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन्। दुई दिनभित्र बैठक सक्ने तयारी छ। यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ ।

 

Leave a Comment