नेपाल र चीन जोड्ने बेनीघाट–लार्के सडकको पाङसिङसम्म मोटरबाटो पुग्यो

मुख्य खबर NFM संवाददाता शुक्रबार पुस १९, २०८१

काठमाडौं :  बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १ सय ५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ ।

बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक खोलिसकेको छ ।

हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म ट्रयाक खुलेर सवारी सञ्चालनमा आइसकेको छ । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ । सहज रुपमा सवारी साधन सञ्चालनका लागि माछीखोलामा बेलिब्रिज राखिएको छ । अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।

कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ । यस वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड बजेट विनियोजन भएको छ । बजेट कम भएको भन्दै थप गरिदिन चुमनुब्री गाउँपालिकाले माग गर्दै आएको छ । गत वर्ष दश करोड रकम विनियोजन भएको थियो । २०५२ सालमा बेनीघाट–आरुघाट–आर्खेत खण्डमा निर्माणको काम सुरु भएको थियो ।

Leave a Comment