काठमाडौं : सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ ।
यो राजमार्ग पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । २०३४ बीपी राजमार्गको कालढुङ्गा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ ।
कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ । अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो । तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने योगेशको भनाइ छ । योगेशका अनुसार यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।