काठमाडौं : संघीय संसद् अन्तर्गत आज पनि ६ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा छलफल गर्ने कार्यसूची राखिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासलगायत पूर्वतयारीका सम्बन्धमा छलफल हुने तालिका छ।
त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ भने बाँकी ५ वटै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।