बझाङमा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु

समाज NFM संवाददाता शुक्रबार पुस १९, २०८१

काठमाडौँ । गए राति बझाङमा भएका  छुट्टाछुट्टै दुई जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । हिजो राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी छ वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख युवराज भण्डारीले नेपाल एफएम नेर्टवर्कलाई जानकारी दिनुभयो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम चैनपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

हिजो राति नै करिब नौ बजे तिर जिल्लाको मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना बारे थप अनुशन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Leave a Comment