काठमाडौं : एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिनुभयो । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् ।
आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुनेछ । एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत हिजो बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।