काठमाडौं : माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ ।
विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा हिजो देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ । प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले भूगोल र गैह्रभूगोलका जिल्लाहरुका मतदान केन्द्रहरुबाट निर्वाचन सम्बन्धी कागजपत्रहरु प्राप्त हुन बाँकी भएकाले मतगणना स्थगित गरिएको जिकिर गरेका छन् । ती कागजपत्रहरु प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने र परिणाम सार्वजनिक गरिने प्रधानको भनाइ छ ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए । गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।
त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो । त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार पहिलो चरणको निर्वाचन गरिएको थियो ।