काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोकेसँगै विद्यार्थी सङ्गठनहरूले तयारी थालेका छन् ।
तोकिएको मितिमै स्ववियु निर्वाचन सम्पन्न गराउनुका साथै निर्वाचन आफ्नो पक्षमा पार्नेगरी विद्यार्थी सङ्गठनहरूले तयारी थालेका हुन् । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) आफ्नो १२ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशन सँगसँगै स्ववियु निर्वाचनको लागि समेत तयारी थालेको छ । नेविसंघले अहिले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव सङ्कलन अभियान थालेको छ । पुस ७ गतेदेखि राष्ट्रव्यापी रूपमा नै सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान थालेको हो ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले महाधिवेशनसँगै स्ववियु निर्वाचनको तयारी भइरहेको बताउनु भयो । देशव्यापी रूपमा नै नेविसंघले स्ववियु निर्वाचनको तयारी थालेको बताउनु भएको छ । सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियानकै क्रममा स्ववियु निर्वाचनका लागि समेत आवश्यक सुझाव तथा सङ्कलनको कार्य हुने बताए । नेविसंघले लामो समयपछि महाधिवेशनको तयारी गरेको छ । तर, सङ्गठनभित्र देखिएका गुट उपगुटका कारण महाधिवेशन हुने नहुने यकिन छैन । तरपनि नेता तथा कार्यकर्ताहरू तयारीमा जुटेका छन् । त्यस्तै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले समेत स्ववियु निर्वाचनको तयारी थालेको छ । अनेरास्ववियुले त्यसका लागि विभिन्न कमिटीहरू गठन गरेको छ ।
विगतको तुलनामा यो पटक बढी क्षेत्रमा स्ववियु निर्वाचन जित्ने योजनासहित आफूहरू रणनीतिक योजनामा अघि बढेको अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले बताउनु भयो ।