विचाराधीन विधेयकलाई हिउँदे अधिवेशनको सुरुमै संसदमा पेस गर्ने संसदीय समितिको तयारी

मुख्य खबर NFM संवाददाता शुक्रबार पुस १२, २०८१

काठमाडौँ : सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै फुल हाउस पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल एमाले र कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशनसमेत दिएका छन् । सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौला समितिका बैठक नियमित राख्न नसकिएको, बैठकमा ‘कोरम’ नपुगेको यथार्थलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर समितिलाई क्रियाशील बनाउन सत्ता साझेदार दलहरू केन्द्रित रहेको बताउनु भयो ।

पछिल्ला दिन संसदीय समितिका बैठक लगातार बसिरहेका छन् । हाल प्रतिनिधि सभाका विभिन्न समितिमा १५ र राष्ट्रिय सभाको विधायन समितिमा चार वटा विधेयक छलफलकै क्रममा छन् । मुख्य सचेतक बर्तौलाले समितिका बैठक र काम कारबाहीबारे निगरानी गरिने र प्रत्येक दलले विशेष परिस्थितिबाहेक अन्य काममा जोडिएर विधि निर्माणको काममा उपस्थित हुन नसकेको भन्न नपाइने गरी सबै सांसदलाई निर्देशित गरिएको स्पष्ट पार्नुभयो । विधेयक निर्माणमा भएको विलम्बलाई लिएर सांसदको आलोचना हुँदै आएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएपछि समयसीमा तोकेर जान आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन् । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सदन सरकार गठन गर्ने ठाउँका रूपमा मात्रै नभई जनसरोकारका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Comment