जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड

मुख्य खबर NFM संवाददाता शुक्रबार पुस १२, २०८१

काठमाडौँ :  जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन ।

आज प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले जलविद्युत परियोजनामा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा बोल्दै सांसद महेश बर्तौलाले नेपालका जलविद्युत आयोजनाहरुमा कम्तिमा पनि ४९ प्रतिशत शेयर विदेश वा स्वदेशमा भएका नेपाली नागरिकको रहने व्यवस्था गर्नुपर्ने बताउनुभयो । लघु तथा समुदायस्तरबाट सञ्चालित जलविद्युतहरुलाई निरुत्साहित दिशामा अगाडि बढ्न नहुने उहाँको भनाइ छ ।

सांसद सुमना श्रेष्ठले नेपालले बनाउने हरेक जलविद्युत परियोजनाहरुमा नेपाली नागरिकको सहभागिता बढाउनु जरुरी रहेको बताउनुभयो । निर्माणाधिन जलविद्युत परियोजनाहरुमा काम गर्ने एक जना पनि नेपाली नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले भने फरक मत छ । उहाँले विद्युत उत्पादनमा निजी क्षेत्रले नभई सरकारले ८० प्रतिशत सेयर स्वामित्व लिनुपर्ने बताउनुभयो ।

समितिले विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरिरहेको छ । संसदको हिउँदे अधिवेशनमा उक्त विधेयकलाई संसदमा पेस गर्नेगरी समितिले छलफल अगाडि बढाएको छ ।

Leave a Comment