काठमाडौं : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराज बताउँछन् ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । यस दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भएको छ । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उँहाले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनु भएको छ ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ । ‘क्रिसमस डे’ को अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।