काठमाडौं : अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् ।
चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् । मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् । यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी हुनेछ ।
हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ । हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ ।
निसान परिवारको एक सदस्य मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यावसायलाई एकीकृत गर्नका लागि छलफलमा सहभागी हुन सहमति जनाएको छ ।