काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ ।
पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिनु भयो । ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उँहाको भनाइ छ ।
अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिसक्नु भएको छ ।
यस्तै संसदीय दलको नेता भने कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । दलको नेताले परिआएमा देशको प्रधानमन्त्री बन्ने हैसियत राख्छ । त्यसैले दलको नेताको जिम्मेवारी कसलाई दिने भन्ने रास्वपामा दुबिधा भएको ती नेताले बताउनु भयो ।
हाल संसदीय दलको उपनेता बिराजभक्त श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठलाईनै कार्यवाहक दिने वा दलको पूर्ण जिम्मेवारी दिने भन्ने टुंगोमा रास्वपा पुगेको छैन ।
यसअघि नागरिकता विवादमा रविको सांसदको पद जादा डिपी अर्यालले दलको नेताको जिम्मेवारी सम्हाल्नु भएको थियो । श्रेष्ठलाई दलको नेताको जिम्मेवारी दिइएको थिएन ।
सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि कार्यवाहक तोक्ने तयारी भएको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्ने बताइन्छ ।
यसैबीच संघीय संसद् सचिवालयका अनुसार सभामुख घिमिरे छलफलमा रहेको र लामिछानेको पदको विषयमा आज नै सूचना टाँस गर्ने÷नगर्ने निर्णयबारे निर्णय लिनेछन् । ।