काठमाडौं : सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ ।
जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा हिजो लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो । आजदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ (थुनछेक बहस) हुन्छ ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ । सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्रममा आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित थुनाबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश गर्छन् ।
जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । जीबी राई आवद्ध विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा रकम प्रवाह भएको थियो । ती सहकारीहरूको बचत दुरूपयोग गरेको आरोपमा अहिले उक्त समूहमाथि मुद्दा दायर भएको हो ।
आरोप लागेका गोर्खा मिडियाका प्रमुख समेत रहेका राई हाल फरार छन् । प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।