काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुनेछ । उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो । सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिवार आमनेसामने हुँदै छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताउनुभयो । जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गर्नु भयो । उँहाले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गर्नुभयो । दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनलमा दर्शकको उपस्थिति बाक्लो हुने भएको छ ।