जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता

Breaking NFM संवाददाता शुक्रबार पुस ५, २०८१

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा (आज) शुक्रबार पूरक अभियोग दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो ।

१९ जनामध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेलसमेत छन् ।

यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना भने फरार छन् । रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताउनुभयो ।

पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको आज ९० दिन पुगेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रबन्ध छ । शुक्रबार राति १२ बजे उक्त म्याद सकिने र शनिबार बिदा भएकाले आइतबार मात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँचै जनाको बयान लिने छ । बयानपछि थुनछेकको बहस हुनेछ ।

Leave a Comment