कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो । कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो ।
अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा हिजो जनकपुरलाई हराउँदै फाइनलमा पुगेको थियो । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको हो ।
हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।