जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएल क्रिकेटको फाइनलमा

खेलकूद NFM संवाददाता बुधबार पुस ३, २०८१

काठमाडौँ । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको हो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटाएको थियो । सुदूरपश्चिमका विनोद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाउनुभयो । जनकपुरका ललित राजवंशी र किशोर महतोले १÷१ विकेट लिनुभएको थियो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । जनकपुरका जेम्स नीशमले ४५ रन बनाउनु भयो भने सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिनु भएको थियो । अब जनकपुरले फाइनल प्रवेशका लागि भोलि दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

Leave a Comment