काठमाडौं ।
संसदीय मामिला पत्रकार समाजले ‘संसदीय पत्रकारितास् अवधारणा र अभ्यास’ नामक पुस्तक सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरेका हुन्।
संसदीय मामिला पत्रकार समाजले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गत संसद सहयोग परियोजनाको सहकार्यमा पुस्तक प्रकाशन गरेको हो। पुस्तकको लेखनमा १३ जना पत्रकारको टोलीले सहयोग गरेका छन् भने संसदीइ मामिला पत्रकार समाजले गरेको हो।
संसदीय अभ्यासलाई जनतासमक्ष पुर्याउने सञ्चार क्षेत्रको भूमिका
पुस्तक विमोचन कार्यक्रममा सभामुख घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारहरूको भूमिका अपरिहार्य रहेको बताए। उनले भने, “सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावली र कार्यविधि बनाइसकेका छौँ।”
उनको भनाइमा संसदीय गतिविधिमा जनतालाई संलग्न गराउन सही र तथ्यपरक सूचनाको महत्त्व रहने उल्लेख गरिएको छ।
सभामुख घिमिरेले संसदीय समितिहरूको सुस्त कामकारबाहीप्रति असन्तुष्टि जनाए । मिनी संसद्का गतिविधि सुस्त हुँदा संसद्काे गरिमामै प्रश्न उठिरहेको भन्दै जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
पुस्तक सांसद र नागरिकका लागि उपयोगी
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक संसदीय प्रणालीको सूचनालाई व्यवस्थित र पहुँचयोग्य बनाउने माध्यम भएको बताए। उनले भने, “नेपालको संसदीय प्रणाली र विश्व अभ्यासबारे थप जानकारी समेट्न सके अझ उत्कृष्ट हुने थियो।” साथै, उनले आलोचनाले सकारात्मक सन्देश दिनुपर्ने धारणा राखे।
सत्य र सकारात्मक समाचारको आवश्यकता
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले सञ्चार माध्यमले सत्य, तथ्य र सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार जनतालाई सही सूचना पुर्याउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण छ।
संसदीय अनुसन्धान र दस्तावेजीकरणको आवश्यकता
सङ्घीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहास समृद्ध बनाउन अनुसन्धानको प्रक्रिया अघि बढिसकेको जानकारी गराए। त्यस्तै, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयालले संविधान कार्यान्वयनको समीक्षामा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए। पत्रकार हरिबहादुर थापा र जगत नेपालले संसदीय दस्तावेजीकरण कमजोर भएको र सांसदहरूको प्रभावकारिता घटेकोतर्फ औँल्याए।
ज्ञान व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) संसद सहयोग परियोजनाका व्यवस्थापक दीलादत्त पन्तले ज्ञान व्यवस्थापनका मुख्य तीन चरणमा काम गर्नुपर्नेमा जोड दिए। उनका अनुसार ज्ञान उत्पादन, भण्डारण र उपयोगलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता छ। उनले भने, “याे अन्य संस्थाहरूजस्ताे हाेइन, तपाईं हाम्रो आफ्नै संस्था हाे र अन्तर सरकारी संस्था भएकाेले यसमा हाम्रो हक लाग्छ।”
‘संसदीय पत्रकारितास् अवधारणा र अभ्यास’ पुस्तक नेपाली संसदीय पत्रकारितामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ। यसले संसदीय प्रणाली र अभ्यासबारे पत्रकार, सांसद र आम नागरिकलाई सूचनायुक्त बनाउनेछ।